दफा १०९
श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने
(१) यस परिच्छेद बमोजिम बुझनु पर्ने साक्षी शारीरिक रुपमा अशक्त वा बालबालिका भएको वा सुरक्षाको कारणले गर्दा निजलाई अदालतमा उपस्थित गराउन नसकिने भएमा सम्बन्धित पक्षले सोही व्यहोरा खोली श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत त्यस्तो साक्षी बुझनको लागि अदालतमा निवेदन दिन सक्नेछ ।
(२) कुनै खास प्रकृतिको साक्षीको परीक्षण श्रव्य दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत गराउन अदालतले आदेश गरेमा सोही बमोजिम साक्षी परीक्षण गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको निवेदन परेमा र निवेदनमा उल्लिखित कारण मनासिब देखिएमा वा उपदफा (२) बमोजिम अदालतले आदेश दिएमा यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले त्यस्तो साक्षी श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत बुझ्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) गर्दा अदालतको अनुमति लिई मुद्दाको सम्बन्धित पक्ष त्यस्तो सम्वाद स्थलमा उपस्थित भई सोधपुछ, जिरह वा पुन सोधपुछ गर्न सक्नेछ ।
(५) उपदफा (३) बमोजिम साक्षी बुझ्दा त्यस्तो साक्षीले व्यक्त गरेको कुरा अभिलेख हुने व्यवस्था गर्नु पर्नेछ र अदालतले श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) को अभिलेख राख्नु पर्नेछ ।
(६) श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझेको अभिलेख अनुसूची–४० बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।